काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले विकासलाई पुनर्भाषित गर्नुपर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शनिबार उनले सो प्रस्ताव राखेका हुन्।
‘हामीले यस्ता नीति तथा कार्यक्रम कति बनायौं होला। विकासका कुराहरु कति गर्यौं होला? अब हामीले यहाँनेर आएर भन्नुपर्छ, हामीले बुझेको विकासलाई पुनर्भाषित गर्नुपर्छ। औपनिवेशिक विकास र आधुनिकीकरणले गाँजेको विकासले के हाम्रो जनजीवनलाई छुन सक्यो? के हामीले विकासका अन्य कुनै प्रारुप देख्न सकेनौं?’, उनले भने।
परियारले यो विकासको विचार र विमर्श मात्रै गर्ने बेला नभएको बरु देशलाई विकासको एउटा अवधारणा र एउटा कार्यक्रम दिने बेला भएको बताए। ‘तर हामी त्यसै गरी भनिरहेका छौं, जसरी हिजो भनेका थियौं। र अर्को साल पनि हामी त्यसै गरी भन्छौं। जुन अहिले भनिरहेका छौं’, उनले भने।
उनले विकासको केन्द्रमा जनतालाई, मान्छेको जीवनलाई, मान्छेको बन्धनहरुलाई मुक्त गर्ने कुरालाई राख्नुपर्ने बताए। उनले भने, ‘हामी विकासको यस्तो नीति निर्माण गरौं, जसले गर्दा हाम्रो संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारहरुलाई सुरक्षित गर्न सकौं। ती अधिकारहरुलाई सम्पन्न गर्न सकौं।’
उनले नीति तथा कार्यक्रम पढिरहँदा हामीले राजनीतिक व्यवस्था त परिवर्तन गर्यौं, तर त्यो परिवर्तन भएको व्यवस्था अनुरुपको हाम्रो प्रवृत्ति नरहेको जस्तो लाग्ने बताए। ‘हामी पात्रहरु त्यही रह्यौं र व्यवस्था परिवर्तनका कुराहरु गरिरह्यौं’, उनले भने।
उनले नीति तथा कार्यक्रमले सरकारी तथ्यांकले भनेको १३ प्रतिशत दलितलाई छुन नसकेको बताए। भ्रष्टाचार न्यूनीकरणका लागि पनि ठोस कार्यक्रम नआएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।