काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्।
शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने दाबी गरे।
नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले भने, ‘कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि बढछौं। यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला। कत्रो सजाय भोग्नु पर्छ होला। मलाई थाह छैन। तर मलाई मतलब छैन। किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइनन्। भोट हाल्न नेता नभएर होइन। नेपाली जनतालाई जिन्दावाद भन्न अरु कुनै पार्टी नभएर होइन। नेपाली जनतालाई भोट हाल्नका लागि अरु कुनै चिन्ह नभएर होइन।’
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको स्पष्ट पारे। उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।