काठमाडौं- तीन दलका शिर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपति मन्दीरको जलहरीका विषयमा लगाइएको आरोप रेकर्डबाट हटाउने सहमति भएको छ।
शनिबार सिंहदरबारमा बसेको बैठकमा यस्तो सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए।
साथै प्रधानमन्त्री प्रचण्डले ओलीको संलग्नता नरहेको बारे प्रष्ट्याउने पनि सहमति भएको छ। यो सहमतिसँगै संसद अवरोध हट्ने भएको छ। एमालेले आधारहिन आरोप लगाएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्द पारेको थियो।
नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएका थिए।
छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।