काठमाडौं- संसदको गतिरोध खुलाउन प्रमुख तीन दलका सचेतकसहित शिर्ष नेताहरूको बैठक बसिरहेको छ।
सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध हटाउने बारे छलफल भइरहेको एक नेताले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगाएत दलका सचेतक सहभागी छन्।
शुक्रबारको बैठक एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि ३ बजे र पुनः ६ बजेका लागि स्थगित भएको थियो।
तर तोकिएको समयमा बैठक बस्न नसकेपछि शनिबार अपराह्न ४ बजेका लागि स्थगित गरिएको हो।
नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएका थिए।
सत्ता पक्षबाटै संसद्मा आधारहीन आरोप लागेको भन्दै एमालेले संसद् अवरोध गरेको हो। एमालेले पित्तलको जलहरी चढाएको प्रमाणित गर्न चुनौती दिँदै सावित नभए माफी माग्नुपर्ने माग राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।