काठमाडौं- प्रतिनिधि सभामा सर्वदलीय सहमति नजुटेपछि शुक्रबार कुनै प्रक्रिया अघि नबढाइ संसद् स्थगित भएको छ।
शुक्रबारको बैठक एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि ३ बजे र पुनः ६ बजेका लागि स्थगित भएको थियो।
तर तोकिएको समयमा बैठक बस्न नसकेपछि शनिबार अपराह्न ४ बजेका लागि स्थगित गरिएको हो।
नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएका थिए।
सत्ता पक्षबाटै संसद्मा आधारहीन आरोप लागेको भन्दै एमालेले संसद् अवरोध गरेको हो। एमालेले पित्तलको जलहरी चढाएको प्रमाणित गर्न चुनौती दिँदै सावित नभए माफी माग्नुपर्ने माग राखेको छ।
सर्वदलीय बैठकमा पनि यही विषयमा जोड दिइएको एमालेका एक सांसदले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।