काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताए। उनले प्रमुख प्रतिपक्ष सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको बताए। उनले एकअर्कालाई हिलो छ्यापेर फुत्किने भन्दा पनि आधारसाथ बोल्नुपर्ने बताए।
‘डाडुपन्यु तपाईहरुकै हातमा छ, सरकारमा तपाईहरु नै हुनुहुन्छ भनेपछि छानबिन गर्नुस्,’ उनले भने, 'मलाई सु–संस्कृत अभ्यास यही हो जस्तो लाग्छ। हिलो छ्यापाछाप गर्ने त्यहाँबाट फुत्किने होइन कि केही कुुरा बोलेको छ भने त्यसको आधार पनि हुनुपर्यो।’
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरे । उनले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको पनि बताए।
‘यो राजनीतिक अजेण्डा हो। यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजी राखेको अजेण्डा हो। सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो’ उनले भने ‘ त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ। त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ। यो बाँधिएको कुराहरु हो। सरकार पनि कानूनी परिबन्धमा बाँधिएको छ। नीति कार्यक्रम पारित गर्नु छ। कानूनी शासन भनेको सडकमा मात्र होइन, सदनमा पनि लागू हुन्छ। कानूनी प्रक्रिया अनुसार विधान, संविधानले जे भन्छ त्यो अनुसार अगाडी जानुपर्छ। ’
उनले यसलाई राजनीतिक मुद्दा बनायो भने यो लिगेसी बन्ने र गलत सम्झौता गर्ने लिगेसी सुरु हुने बताए।
उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै छानबिन गरेर टुङ्ग्याउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।