काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सबै ठाउँमा ५१ प्रतिशत एमाले बनाउने गरी लाग्न निर्देशन दिएका छन्। पार्टीले 'भोटमा र सिटमा' एमाले ५१ प्रतिशत बनाउने नीति लिएको भन्दै त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए।
उनले भने, 'हामीले हरेक ठाउँमा एमाले ५१ प्रतिशत भनेका छौं। अहिलेदेखि योजना बनाएर लाग्न जरुरी छ। त्यसरी काम गरिएन भने तपाईंहरुसँग आफ्नो कार्ययोजना हुनुपर्छ। त्यो ग्राफिक सिटमा हुनुपर्छ।'
उनले निश्चित अवधि र कामको योजना बनाएर आवधिका मूल्यांक आफैंले गर्न भनेका छन्। तार्गेट मिट गरें कि गरिनँ भनेर मूल्यांकन गर्नुहोस्। सबै ठाउँमा हामी छैनौं होला। हाम्रो प्रमुख छैनन् भने पनि अरुकालाई कसरी ठीक बाटोमा लिन सकिन्छ भने पनि काम गर्ने गर्नुपर्छ उनले भने।
उनले बजेट बुझ्न जरुरी पनि भएको बताए। त्यसो भएमा मात्रै राम्रोसँग योजना बनाएर काम गर्ने सकिने उनले उल्लेख गरे। 'बजेट बुझेनौं भने थाहा केही हुँदैन। अर्कोको भरमा पर्दा चिप्लिएको थाहा हुँदैन। वैशाखी टेक्यो भने चिप्लिएपछि मात्रै थाहा हुँदैन। त्यो मष्तिटष्कसँग डिस्कनेक्टेड चिज हो' उनले भने।
उनले कसैले पनि आफूलाई सम्पूर्ण ठान्ने गल्ति गर्न नहुने बताए। 'खाँबोले मै मात्रै घर भन्ने ठान्नुहुँदैन, खाँबो नभइ पनि हुँदैन। खाँबो मात्रै घर होइन। म एउटा अंश हुँ ठान्नुपर्छ,' उनले थपे। सबैले अर्काको श्रेष्ठता स्वीकार्ने गरेमा मात्रै पार्टीको लक्ष्य प्राप्त हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।