काठमाडौं– राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटमा सरकारी साधारण खर्च घटाएर ल्याइने बताएको छ। आयोगले चालू आर्थिक वर्षको लागि अनुमान गरेको आर्थिक वृद्धि र राजश्व परिचालनको लक्ष्य पूरा नहुने भन्दै मन्त्रालयगतका विकास बजेट सकेसम्म नघटाउने तर साधरण खर्च घटाउने गरी बजेट निर्माण भइरहेको बताएको हो।
आन्तरिक समस्या, पुँजी परिचालनमा समस्या, तरलतामा र बाह्य समस्या बढेका कारण मन्त्रालयगत साधारण खर्च कटौती गर्नुपरेको स्पष्ट पारेको छ। साथै सरकारले चालू आर्थिक वर्षको बजेटमा लिएको लक्ष्य अनुसार परिणाम आउने नदेखिएको बताएको छ।
योजना आयोगका सदस्य डा रामकुमार फुँयालले आगामी आर्थिक वर्षको बजेट सरकारी साधारण खर्च घटाउने गरी बजेट निर्माण भइरहेको बताए। उनले सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा योजना आयागले गत आर्थिक वर्ष बनाएको खर्च संरचनामा अनुमान गरे अनुसार बजेट आउन नसक्ने पनि जानकारी गराए।
सदस्य फुँयालले चालू आर्थिक वर्षको बजेटको आकार १ खर्ब बढी घटेकाले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत सिलिङ कटौती भएको उल्लेख गरे। उनले साढे १५ खर्बको चालू आर्थिक वर्षको बजेट भएकाले योजना आयोगले आगामी आर्थिक वर्षको लागि दिएको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब रहेको बताए।
उनले गत वर्षको १७ खर्ब ९३ अर्बको हिसाबले १६ खर्ब ८८ अर्ब बजेट कम रहेको बताए। योजना आयोगले बनाएको मध्यकालीन खर्च संरचनामा १९ खर्ब ३१ अर्बको बजेट आगामी २०८०/८१ मा बनाउने आकलन गरेको भन्दै अर्थतन्त्रमा देखापरेका आन्तरिक तथा बाह्य कारणले हुन नसकेको बताए।
उनले योजना आयोगले दिएको बजेट सिलिङका आधारमा नै सरकारले बजेट ल्याउने बताए। आगामी आर्थिक वर्षमा राजश्व संकलन,मूल्यवृद्धि र पुँजी निर्माण र खर्च कति गर्ने र खर्च पछिको उपलब्धि के हुने भन्ने विषयसमेत तय भएको उनको भनाइ छ। उनले गत वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको भए पनि बजेट कार्यान्वयनको क्रममा बजेटको आकार ठूलो भएर सरकारको लक्ष्यभन्दा कम राजश्व संकलन हुने भएकाले बजेट आकार घटाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।