काठमाडौं- सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपछि चन्द्र भण्डारीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सभामुखको कार्यकक्षमा पुगेका छन्।
भेटका क्रममा अध्यक्ष ओलीले उनको स्वास्थ्य अवस्था बुझेका हुन्। सांसद भण्डारीले आफ्नो स्वास्थ्य लाभका लागि ओलीले गरेको कामना थाहा पाएको भन्दै धन्यवाद दिएका थिए।
उनले भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ। गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। थ्याङ्क यू सो मच।’
एमाले अध्यक्ष ओलीले निको भएर आउने विश्वास आफूलाई रहेको उल्लेख गरे । उनले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’
यसैगरी आफूले आफ्नो आमा बितेको ढिलोगरी जानकारी पाएको बताए। ‘मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ,’ भण्डारीले भने।
भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराए। सभामुख देवराज घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए। भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष समयको व्यवस्था समेत मिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।