काठमाडौं- ग्यास लिक भएर आगो लाग्दा घाइते भएका कांग्रेस सांसद डा चन्द्र भण्डारीले जलन भएकाहरुको उपचारका लागि नेपालका डाक्टर अब्बल भएको बताएका छन्।
सरकारले यहाँ रहेका अस्पतालहरुका लागि विशेष ध्यान दियो भने जलनको उपचारका लागि एशियाकै सेन्टर बनाउन सकिने बताए।
भारतमा उपचार गराएर फर्केपछि संसद्मा आफ्ना भनाइ राख्दै उनले भने, ‘अरु देशकाभन्दा हाम्रा कम छैनन्। मैले उपचार गरेको जम्मा बाउछोराले चलाएको अस्पताल रहेछ, तर एशियाको राम्रो रहेछ। हाम्रो कीर्तिपुरमा त्यस्ता ११/१२ जना डाक्टर हुनुहुन्छ। फिजियोथेरापीमा त झन् विश्वकै राम्रो छन्। त्यसैले एशियाको सबैभन्दा राम्रो अस्पताल नेपालमा बन्न सक्छ। यहाँको हावापानीका कारण पनि त्यो सम्भव छ।’
उनले अहले कीर्तिपुर र शुषमा कोइराला मेमोरियल अस्पतालका भवन निर्माणका आवश्यकता पूरा गर्न पनि सरकारसँग माग गरेका रहेछन्।
यसैगरी जलनको उपचारका लागि पनि विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताएका छन्। दूरदराजका गरिबहरु नै धेरै आगोबाट जल्ने समस्या खेप्ने गरेको उल्लेख गर्दै उनले संसद्मार्फत् यस्तो आग्रह गरेका हुन्।
‘क्यान्सर, मुटु र मिर्गौलाका बिरामीलाई जस्तै जलनलाई पनि जोड्नुपर्ने रहेछ। यसमा ठूलो दर्द लुकेको छ,’ उनले थपे। गाउँ-गाउँमा ग्यास पुगे पनि त्यसको प्रयोगमा सावधानीबारे कहीँकतै पढ्न नपाइने बताए। स्कुलका पाठ्यक्रममा त्यसका बारेमा उल्लेख गरिनुपर्ने उल्लेख गर्दै पाठ्यक्रम निर्मातामाथि आक्रोश पोखे, ‘यिनका भाषण सुन्नुपर्ने, गुनासो सुन्नुपर्ने तर उनीहरुले यति साना कुरामा पनि कुनै ध्यान नदिने? बच्चाहरु स्कुल जाँदा बाटो कसरी क्रस गर्ने? ग्यास-बिजुली कसरी बाल्ने? कसैलाई यसबारेमा ध्यान भएन।’
यसैगरी स्वचालित रेगुलेटर प्रयोगका लागि कानुनी व्यवस्था गर्न पनि उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।