काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको दाबी गरिएको रिटलाई दर्ता प्रक्रियामा लैजान आदेश गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानले नागरिकता लिएको तर उक्त कार्यमा पनि प्रक्रिया नपुगेको दाबी गर्दै युवराज सफल रिट लिएर सर्वोच्च पुगेका थिए।
उक्त रिट अदालत प्रशासनले दरपिठ गरेको थियो। दरपिठविरुद्ध सफलले इजलासमा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएको हो।
सर्वोच्च प्रशासनको दरपिठको निर्णय बदर गरी उक्त कुरा इजलासबाट व्याख्या हुनुपर्ने भनिएको छ। यो आदेशसगै रविविरुद्ध सर्वोच्चमा दुई थान रिट विचाराधीन हुने भएको छ।
यसअघि अदालतमा महान्यायाधिवक्ता कार्यालयको राहदानी कीर्तेमा मुद्दा नचलाउने निर्णयविरुद्ध दायर गरेको रिट विचाराधीन रहेको छ। उक्त रिटमा लिखित जवाफ माग गर्ने आदेश सर्वोच्चले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।