काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सरकार विस्तार गर्दैगर्दा सत्ता गठबन्धनबीच मधेस प्रदेशमा भने विवाद सुरु भएको छ।
केन्द्रमा जनता समाजवादीले एक मन्त्री र राज्यमन्त्री पठाएर सरकारलाई सहयोग गरिरहँदा मधेस प्रदेशमा भने माओवादीले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले सरकारबाट आफूहरु बाहिर बस्ने निर्णय भएको र थप कुरा पछि सार्वजनिक हुने बताए। केन्द्र सकारमा जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई मन्त्री नियुक्त गरेका हुन्। तर मधेस प्रदेशमा भने जसपाका कारण आफूहरु सरकारबाट बाहिर बस्ने निर्णयमा पुगेको माओवादीले दाबी गरेको छ।
मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन्। केन्द्रको नीति विपरीत मुख्यमन्त्री हिँडेका कारण आफूहरुले सरकारमा सहभागी हुनुको औचित्य समाप्त भएको माओवादीले भनेको छ।
त्यस्तै सत्ता गठबन्धनभित्रै रहेको लोसपा पनि असन्तुष्ट भएको छ। सरकारमै रहेको जनमत पार्टीलाई दिएको मन्त्रालय खोस्ने तयारी मुख्यमन्त्रीले गरेपछि उक्त दल पनि मुख्यमन्त्रीसँग रिसाएको छ।
सोमबार गठबन्धनको बैठक बसे पनि सहमति नभएकाले सरकारबाहिरै बस्ने माओवादीको अडान छ। मुख्यमन्त्री यादवले नेपाली कांग्रेससँग मात्र सहमति गर्दै सरकार विस्तार गर्न लागेको भन्दै लोसपा, माओवादी र जनमत चिढिएका छन्।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसलाई २ र एकीकृत समाजवादीलाई १ मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रिपरिषद् विस्तार गर्न लागेको तर माओवादी र लोसपालाई २ मन्त्रालय दिने भनिएकोमा एक मात्र दिने मुख्यमन्त्रीले तर्क गर्न थालेपछि सत्ता गठबन्धननमा विवाद देखिएको हो।
मुख्यमन्त्रीले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंहलाई मन्त्री बनाउने तयारी गरेका थिए। यादव भौतिक पूर्वाधार विकास र सिंहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी गरेपछि सत्ता गठबन्धनभित्र रहेका अन्य दलहरु रिसाएका थिए।
त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले चलाउँदै आएको छ। जनमतका मन्त्रीलाई विना विभागीय बनाउँदै उक्त मन्त्रालयमा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने दिने तयारी मुख्यमन्त्रीले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।