काठमाडौं– सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छन्।
यही जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन्। सिडेनको इतिहासमा महिला इञ्जिनियरले महासचिवमा उम्मेदवारी दिएको यो पहिलोपटक हो।
पेशाले आर्किटेक्ट इञ्जिनियर शाह नेविसंघकी पूर्व केन्दी्रय सदस्यसमेत हुन्। डोल्पा स्थायी घर भएकी शाह एनएसयू टेक फेस्टकी संस्थापक हुन् भने बिजनेश एण्ड प्रोफेसनल वुमनकी कार्यकारी सदस्य हुन्।
सिडेन नेपाली कांग्रेस निकट इञ्जिनियरहरुको संस्था हो। ‘अहिले देशभरका अग्रज र साथीहरुको राम्रो प्रतिक्रिया पाइरहेको छु। उहाँहरुले मप्रति देखाएको विश्वास र भरोसा टुट्न दिने छैन,’ महासचिवकी उम्मेदवार शाहले भनिन्, ‘७औं महाधिवेशनले सिडेनमा पहिलो पटक महिला महासचिव बनाएर इतिहास रच्नेमा म विश्वस्त छु।’
नेपाल इञ्जिनियरिङ कलेजबाट अध्ययन पूरा गरेकी शाह शालिन र क्षमतावान् नेतृका रुपमा परिचित छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।