काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन्।
राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफूले भन्नुपर्ने धेरै कुरा बोलेको बताउँदै प्रचण्डले आफूले यसपटक कम बोल्ने तर धेरै गर्ने संकल्प लिएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ। मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलिसक्नुभएको छ। यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाहिँ धेरै गर्ने संकल्प लिएको छु। मैले प्रधानमन्त्री भएको दिन देखि त्यो गरिरहेको छु।’
आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरुको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरुको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा मारिएका योद्धाहरूलाई हल्ला नगरिक राष्ट्रिय सहिद घोषणा गरेको बताए।
साथै, विभिन्न विरोधका बाबजुत पनि आफूले पुनः हल्ला नगरिकनै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको बताए।
२०७१ मा भएको निर्णय अनुसार आफूले सरकार प्रमुखको हैसियतले जनयुद्धका योद्धाहरूलाई दुई लाख दिन गरेको निर्णयको अनावश्यक विरोध भएको बताउँदै सो विषयमा सर्वोच्च अदालले पुनः राहत दिने बाटो खोल्ने विश्वास व्यक्त गरे।
जसका लागि माओवादी आन्दोलनका सम्पूर्ण धाराहरु एक भएर सचेतता पूर्वक लाग्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो।
मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरुको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिए।
संक्रमणकालीन न्यायको विषयमा सत्ता गठबन्धनमा राम्रो बुझाई रहेको बताए। साथै, विपक्षका दलका नेताहरु पनि कोलम्बियाको भ्रमण गरेर द्वन्द्वलाई शान्तिमा कसरी परिणत गरिएको थियो भन्ने सिकेर आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकि काम छिट्टै टुंग्याउने गरी आफू लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।