काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले महिनाको एक दिन अनिवार्यरुपमा सरकारी एवम् सामुदायिक विद्यालयमा स्वयमसेवकीय कक्षा सञ्चालन गर्ने भएको छ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाले शैक्षिक गुणस्तर वृद्धिका लागि महिनाको एक दिन सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्यरुपमा स्वयंसेवकीय कक्षा दिने जानकारी दिए।
पाँच महिनामा १० हजार कमिटी निर्माण
त्यसैगरी अनेरास्ववियुले संगठन निर्माण महाअभियान अन्तर्गत पहिलो ५ महिना(जेठ देखि असोज) सम्म दश हजार कमिटी निर्माण गर्ने योजना बनाएको छ।
यसका लागि ‘एक्सलोलर नेक्स्ट जिन लिडरस’लाई मिसनकै रुपमा सञ्चालन गरिने महासचिव रोकायाले जानकारी दिए। जेठ ४ देखि ६ सम्म बसेको अनेरास्ववियुको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव रोकायाले भने,‘जेठ देखि असोजसम्म १० हजार अनेरास्ववियुका संगठन निर्माण गर्ने निर्णय गरेका छौं। उक्त मिसन सफल पार्नका लागि कार्यविधि आन्तरिक सर्कुलर मार्फत पढाउने छौं।’
अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तिले सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको ३४२ क्याम्पसमा सम्पन्न भएको निर्वाचनमा अनेरास्ववियुले सबैभन्दा बढी क्याम्पसमा जित हासिल गरेको दाबी गरे।
उलने भने,‘३४२ वटा विभिन्न क्याम्पसमा स्ववियुको निर्वाचन सम्पन्न भयो। जसमध्ये अनेरास्ववियुले १२९, नेविसंघले ११९ र अनेरास्ववियु क्रान्तिकारीले ६९ वटा क्याम्पसमा जित हासिल गरेको छ।’ उनले सत्ताधारी विद्यार्थी संगठनका कारण आरआर क्याम्पस, त्रिचन्द्र लगायतका क्याम्पसहरुमा निर्वाचन हुन नसकेको आरोप लगाए।
त्यसैगरी अनेरास्ववियुका अध्यक्ष समिक बडालले अनेरास्ववियुले कोमामा पुगेको स्ववियु संस्थालाई जिवित पारेको दाबी गरे। उनले हरेक कक्षामा अनेरास्ववियु अभियान सञ्चालन गर्ने समेत बताए। अनेरास्ववियुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने, पार्टी अध्यक्ष केपी शर्मा ओली हालै पूर्वी जिल्लाहरु भ्रमणमा झापा, इलाम, पाँचथर र तेह्रथुम लगायका जिल्लाहरुका पुग्दा उनीमाथि पटक–पटक सांघातिक हमलाको प्रयास भन्दै निन्दासमेत गरेको छ।
यसका साथै पार्टीको नेताहरुको जन्मदिनमा केक लगेर घरमै पुग्ने बानी बेठिक रहेको उल्लेख गर्दै आगामी दिनमा केक काट्ने कामको अन्त्यसमेत गर्ने निर्णय अनेरास्ववियुले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।