प्रतिनिधि सभा बैठकमा ओली (फाइल तस्बिर)
काठमाडौं– सरकारले शुक्रबार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्ष नेकपा एमाले आक्रामक रुपमा प्रस्तुत हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने भएका छन्।
नीति तथा कार्यक्रमको प्रतिवादका लागि भनेर शनिबार एमालेको ‘तयारी बैठक’ समेत बसेको थियो। बैठकमा एमाले अध्यक्ष ओलीले ‘नुन खाएका कुखुराको जस्तो झोक्राएर’ नबस्न भन्दै पार्टीका सांसदहरुलाई निर्देशन दिए।
प्रमुख प्रतिपक्षको भुमिका पनि गुमाउन थालेको भन्दै ओलीले आफ्नै सांसदहरुको आलोचना गरेका थिए। खासगरी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले जसरी सरकारका कामबारे आलोचना गर्न थालेका छन्, त्यसअनुसार आफ्ना सांसदहरु प्रस्तुत हुने नसकेकोमा ओलीको आक्रोश थियो।
आफ्ना सांसदको प्रस्तुतिप्रति सकारात्मक नदेखिएका ओलीले आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको धारणा राख्न आफैं सम्बोधन गर्न लागेका हुन्। ओलीले प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी नेताको रुपमा सरकारका नीति तथा कार्यक्रममाथि धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको छ।
ओली नीति तथा कार्यक्रमप्रति आलोचनात्मक टिप्पणीसहित प्रस्तुत हुने तयारीमा छन्। शनिबारको ‘तयारी बैठक’मै ओलीले त्यसको संकेत गरिसकेका छन्।
शनिबार संघीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलको बैठकमा बोल्दै ओलीले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे।
सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसद्बाट पारित गर्न नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे।
‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसावले निर्देशित गर्न सक्दैन। यसले कुनै डेष्टिनेशननै तोकेन। यसले नीतिगत रुपमा कुनै मार्ग निर्देश गर्दैन। स्वीकार योग्य छैन, समर्थन योग्य छैन। विरोध योग्य छ। यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन। यसको विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिशन त्यही हो,’ ओलीको भनाइ थियो।
ओलीले आइतबारको बैठकमा पछिल्लोपटक चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि बोल्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ। ओलीले पार्टी केन्द्रीय कमिटीको केही दिन अगाडिको बैठकमा नै शरणार्थी प्रकरणबारे प्रतिनिधि सभाको जेठ ४ गतेको बैठकमा ‘खुलासा’ गर्ने बताएका थिए। तर जेठ ४ गतेको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम तय भएकाले ओलीले सम्बोधन गर्न पाएनन्।
ओलीले ४ गते गर्ने भनेको खुलासा आइतबारको बैठकमा गर्ने उनीनिकट नेताहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।