काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन्।
शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।
उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो कि भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरु सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि बसेको बताए।
उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको पनि बताए।
प्रधानमन्त्री प्रचण्डले पुँजीबजार सम्बन्धीका सेटिङहरु भत्काएको दाबी गर्दै सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको बताए। सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउने गरी हुन लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।