काठमाडौं- राष्ट्रिय सभा सदस्यहरुले शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामुहिक रुपमा भेट गरेका छन्। राष्ट्रिय सभाको दोस्रो बैठकपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनीहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सांसद विकास कोषमा रकम विनियोजन गर्न सरकारमाथि दबाब भइरहेको विषयमा ध्यानाकर्षण गराए।
उक्त भेटमा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको समान हैसियत भएकोले संसद विकास कोष नराख्नुपर्ने अडानमा राष्ट्रिय सभा एक मत रहेको तर बजेटमा राख्ने हो भने राष्ट्रिय सभा सदस्यलाई पनि सांसद विस कोषको बजेट व्यवस्था हुनुपर्ने बताइन्।
नेकपा(एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले पनि मुलुकको वर्तमान अर्थसंकटका कारण सांसद विकास कोष राख्न हुँदैन भन्ने कुरामा राष्ट्रिय सभा एकमत रहेको बताए। उनले पनि सांसदहरुको दबाबका भरमा सांसद विकास कोषमा रकम विनियोजन गर्ने हो भने राष्ट्रिय सभाका सदस्यलाई विभेद नगर्न ध्यानाकर्षण गराए।
सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पनि सांसद विकास कोष राख्ने पक्षमा नरहेको बताएका थिए। उनले राख्नुपरेको अवस्थामा दुवै सदनलाई विभेद हुन नदिने विषयमा आफू सकारात्मक भएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।