काठमाडौं– नेपाल–अमेरिका ट्रेड एण्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको छैटौं बैठक सुरु भएको छ। बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो।
बैठकले अमेरिका र नेपालबीचको लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाउने बताइएको छ। बैठकका बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई लगानीको रुपमा रपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न बैठक बसेको बताए।
बैठकका लागि अमेरिकाबाट १८ सदस्यीय टोली नेपाल आएको सचिव मरासिनीद्ये जानकारी दिए। नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवर्द्धन गर्ने बैठकको लक्ष्य रहेको मरासिनीको भनाइ छ।
बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने उनले बताए। बैठक सम्भावना र समस्याको खोजी गर्ने माध्यम बनेको बताउँदै सचिव मरासिनीले बैठकले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरुका बारेमा पनि छलफल हुने बताए।
सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसावले लगानी भित्र्याउन खोजेको बताए। अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको मरासिनीले उल्लेख गरे।
बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी छन्। उनले बैठकमा सम्बोधन गर्दै नेपालले अमेरिकाबाट दिगो विकाससहितको लगानी खोजेको र नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहँदा विदेशी लगानीका लागि सहज भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।