काठमाडौं– संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले उपसमिति गठन गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो। जसमा कांग्रेसका ३ तथा एमाले र माओवादी केन्द्रबाट २–२ जना सदस्य छन् भने अरु दलका १–१ जना सदस्य छन्।
समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, जीवन परिवार र सुशीला थिङ तामाङ तथा नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र महेश बर्तौला सदस्य छन्। माओवादी केन्द्रबाट पूर्णवहादुर घर्ती र गोमा लाभ सापकोटा सदस्य छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, जनता समाजवादी पार्टीबाट रञ्जुकुमारी झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर सदस्य रहेका छन्।
उपसमितिलाई विधेयकमाथि छलफल गरी राय प्रस्तुत गर्नका लागि ३ साताको समय दिइएको छ।
सरकारले गत फागुन २५ गते संसद्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।