काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन्।
उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए। विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शीर झुकेको उनले टिप्पणी गरे।
अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको भन्दै यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए।
उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको बताए। भ्रष्टाचारमा संग्लन कुनै पनि मानिसहरुले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ। नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्ने उनले माग गरे।
उनले अपराधमा संलग्नहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको मुद्दाहरु चलाउन आग्रह गरे। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने उनको भनाइ छ।
उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूल्ठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए। राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।