काठमाडौं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा माइतीघरमा प्रदर्शन सुरु भएको छ।
'निर्मलाका निम्ति न्याय' नारासहित स्वस्फूर्त प्रदर्शन सुरु भएको हो। पन्तको हत्यामा नक्कली अभियुक्त पक्राउ गरिएको र वास्तविक दोषीसम्म प्रहरी पुग्न नसकेको भन्दै सर्वत्र सरकारको आलोचना भइरहेको छ। दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रदर्शनकारीहरुले माग गरेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दबाब स्वरुप #JusticeForNirmala अभियान चलाएका छन्। शुक्रबार ट्विटरमा यो ह्यासट्याग ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो।
भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो। घटनामा अनुसन्धनका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी अनितालाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रदर्शनमा शुक्रबार प्रहरीको गोली लागेर किशोर सन्नी खुनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।