काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले यस वर्ष धानको बिउ र मल अभावको समस्या नहुने बताएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘कृषिको उत्पादन र उत्पादकत्व मौसमी प्रणालीमा आधारित रहेको आएको छ। रासायनिक मल अभाव हुन नदिन नेपालमै रासायनिक मल उत्पादन गर्नका लागि गम्भीर ढङ्गले अध्ययन भइरहेको म अवगत गराउन चाहामन्छु,’ उनले भने।
सर्वसुलभ ढङ्गले मल उपलब्ध गराउन रासायनिक अनुदान दिनका साथै भारत सरकारसँग खरिदको सम्झौता भइसकेको जानकारी दिए।
यसवर्ष समयमै मल र बिउ उपलब्ध गराउन आफूले कृषि मन्त्रालय लगायत सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए। कृषि मन्त्रालयले तयारी गरिसकेको समेत जानकारी दिए।
यस वर्षको नीति कार्यक्रम र बजेटमा कृषिलाई र किसानको हितलाई अनि उत्पादन र रोजगारी सिर्जनाको कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।