काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पक्षमा आफू पनि रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले राखेको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्।
आफू दोस्रोपटक प्रधानमन्त्री बन्दा तराई, मधेश र थरुहट आन्दोलनका लागि लाल आयोग बनाएको उल्लेख गरे। उनले थपे, ‘उक्त प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र म पनि पर्छु। तर, त्यसमा सूचना आयोगको मुद्दा पर्यो। सर्वोच्चले सार्वजनिक नगर्नू भन्ने फैसला गरेको छ। पुनरावेदन गरेर खुला भएपछि सार्वजनिक हुन्छ।’
आफूहरुले मिल्ने हदसम्म विभिन्न अंशहरु सार्वजनिक गरिरहेको पनि बताए। यस्ता प्रतिवेदनको संवेदनशीलतालाई मध्यनजर गरेर सार्वजनिक नगर्ने प्रचलन अन्तर्राष्ट्रिय रुपमै रहेको उनको भनाइ थियो।
चुनावका लागि सत्ता गठबन्धनका नेताहरुले चढेको हेलिकोप्टरको पैसाका विषयमा उठाएको सवालको भने उत्तर नै दिएनन्। खनालले सोधेका थिए, ‘चुनावको बेला हेलिकोप्टरको पैसा कसले तिर्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।