काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन्।
बिहीबार बिहान आफूलाई भेट्न आएका प्रवास संयोजन समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीहरूसँगको भेटमा श्रेष्ठले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको उल्लेख गर्दै यसमा नेपाली डायस्पोरा कम्युनिटीको पनि साथ चाहिने बताए।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गरे।
भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने बताएका श्रेष्ठले निर्दोषलाई नछुने बताए। 'प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन,' उपप्रधानमन्त्री श्रेष्ठले भने, 'अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन।'
उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको प्रवास समन्वय समिति इन्चार्ज समेत छन्। उनलाई माओवादी केन्द्रको प्रवास समन्वय समितिले बधाइ तथा शुभकामना व्यक्त गरेको थियो। सरकारको यो कदमलाई विश्वभर रहेका नेपालीहरूको साथ र समर्थन रहेको केन्द्रले जानकारी गराएको थियो। साथै केही विषयमा श्रेष्ठको ध्यानाकर्षण पनि गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।