काठमाडौं– जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रककरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका आरोपितहरुलाई तेस्रो पटक म्याद थप गरेको छ।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई अन्तिम पटक थप ३ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो। तर, अनुसन्धान अझै केही दिन लाग्ने भएपछि उनीहरुलाई बुधबार पुन: म्याद थप गरिएको हो।
प्रहरीले पछिल्लो पटक पूर्व उपपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरेको र खाणलाई बयानमात्र गराएकाले थप म्याद थप्नुपर्ने अनुरोध गरेको थियो। जिल्लाले अनुसन्धान टोलीको उक्त कुरालाई स्वीकार गर्दै म्याद थपेको हो।
अब आइतबारमात्र उनीहरुको मुद्दा सम्बन्धी अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा बुझाउने देखिन्छ। यो प्रकरणमा उच्च तहको संलग्नता देखिएपछि पछिल्लो पटक बयान गराइएका आरोपितहरुले दिएको बयानका आधारमा केही अनुसन्धान गर्नुपर्ने जिकिर प्रहरीले गरेको थियो।
यो प्रकरणमा प्रहरीले संगठित अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ। सुरुमा ठगीमा अनुसन्धान गरेको प्रहरीले उच्च राजनीतिक तह र धेरै मानिसहरुको संलग्नता देखिएपछि संगठित अपराधमा लगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।