काठमाडौं– सर्वोच्च अदालतले महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि फुकुवा भएको पत्र पाएका चोलेन्द्र शमशेर राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको छ।
संवैधानिक इजलासले बुधबार दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गरेको हो।
फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि सत्तारुढ दलले महाभियोग दायर गरेका थिए। महाभियोग दायर भएलगत्तै उनी निलम्बनमा परेका थिए। लामो समय महाभियोगमाथि कुनै पनि छलफल नै भएन।
सरकारले एकैपटक मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेपछि छलफलका लागि अघि बढाएको थियो। तर महाभियोग टुङ्गो नलाग्दै संसद्को कार्यकाल समाप्त भयो।
मंसिर १ गते संघीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र लेखेका थिए। उक्त पत्र देखाउँदै राणा सर्वोच्च फर्कन खोजेका थिए। त्यसमा विरोध भएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य लगायतले संवैधानिक इजलासमा संसद्को महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने भन्दै रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासले बहस नोट मगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।