काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताएका छन्।
प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा सम्बोधन गर्दै बुधबार उनले दोषी सबैलाई कारबाही हुनुपर्ने बताए। ‘यो राजद्रोह, राष्ट्रविरुद्धको अपराधमा अनुसन्धान जरासम्म पुग्नुपर्छ। जो जो मुछिन्छ, सबैलाई कारबाही हुनुपर्छ। यसमा दायाँबायाँ, इफ बट केही पनि छैन,’ उनले भने।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। उनले आरोपित व्यक्ति स्वाभाविक रुपमा निलम्बनमा पर्नुपर्ने बताए। कांग्रेसभित्र खाणलाई निलम्बन गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुई थरी धारणा छ।
‘पार्टीको छलफलमा केही साथीको पोजिसन छ- हाम्रोमा यो परम्परा छैन। परम्परा छैन भने तोड्नुपर्छ। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नुहुँदैन। यसलाई तोड्नुपर्छ,’ थापाले भने।
थापाले वाम पार्टीहरु कुनै पनि बेला मिल्न सक्ने सम्भावना रहेको बताए। ‘अहिले हामी फरकफरक ठाउँमा छौँ। गठबन्धनमा छौँ। अस्ति भर्खरै हामीले देखेकै हौँ, पुस १० गते। सबै वाम एक ठाम भन्ने कुरा कुनै पनि बेलामा हुनसक्छ फेरि। नेपाली कांग्रेसले यो हुनसक्छ भन्ने मानेर जानुपर्छ,’ उनले भने।
पछिल्लो समय लोकरिझ्याइँको राजनीति नेपाली संस्करणमा आएको उनको भनाइ छ। ‘लोकरिझ्याइँको राजनीतिको सबैभन्दा मुख्य कुरा हुँदोरहेछ, यसले के गर्ने भन्नेतिर यसले सोच्दोरहेनछ। के भन्नेतिर सोच्दोरहेछ। के भन्दा मान्छेको भावनासँग खेल्न सकिन्छ। के भन्दियो भने भावनासँग खेल्न सकिन्छ। न समाधान दिनुपर्ने हुन्छ। न कुनै उत्तर खोज्नुपर्ने हुन्छ। न कुनै परिणाम दिनुपर्ने हुन्छ,’ उनले भने।
थापाले लोकरिझ्याइँको राजनीति, वामहरु एक ठाउँ हुने सम्भावना र दक्षिणपन्थी ध्रुवीकरणको सम्भावनाका बीचबाट कांग्रेस आफू पनि जोगिएर, देशलाई पनि जोगाएर, आफ्नो समर्थन पनि कायम राखेर अगाडि जानुपर्ने बेला रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।