काठमाडौं- चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३७ प्रतिशत रहेको छ। कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रहेकामा बागमती प्रदेशको योगदान ३७ प्रतिशत अर्थात् १९ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादनसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो। यस्तो हिस्सामा सबैभन्दा कम कर्णाली प्रदेशको चार प्रतिशत अर्थात् दुई खर्ब २१ अर्बको हाराहारीमा छ।
दोस्रो हिस्सा रहेको कोशी प्रदेशको १६ प्रतिशत अर्थात् आठ खर्ब ४९ अर्ब योगदान रहेको छ भने लुम्बिनी प्रदेशको हिस्सा १४ प्रतिशत अर्थात्सात खर्ब ६२ खर्ब, मधेश प्रदेशको १३ प्रतिशत सात खर्ब सात अर्ब रहेको कार्यलयले जनाएको छ।
गण्डकी प्रदेशमा जिडिपीको हिस्सा ९ प्रतिशत अर्थात् चार खर्ब ८२ अर्ब र सुदूरपश्चिम प्रदेशको सात प्रतिशत अर्थात् तीन खर्ब ७६ अर्ब रुपैयाँ बराबरको योगदान रहने कार्यालयको अनुमान छ।
कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा चालु आर्थिक वर्षमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकामा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.३ प्रतिशत र बागमती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.४ प्रतिशत रहने अनुमान गरिएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धिदर ६.३० प्रतिशत थियो। यो वर्ष आर्थिक गतिविधि संकुचन हुँदा वृद्धिदरमा कमी आएको कार्यालयले जनाएको छ। अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै भए पनि वृद्धिदर भने घटेको कार्यलयले जनाएको छ।
आर्थिक वृद्धिदरमा सबैभन्दा बढी गण्डकी प्रदेशको ३.३ प्रतिशत रहेको छ। गत वर्ष सो प्रदेशको आर्थिक वृद्धिदर ३.३५ प्रतिशत रहेको थियो।
कोशी प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धिदर दुई प्रतिशत, मधेस प्रदेशमा आर्थिक वृद्धिदर १.७ प्रतिशत, लुम्बिनीमा २.१ प्रतिशत, कर्णालीमा १.९ र सबैभन्दा कम सुदूरपश्चिममा आर्थिक वृद्धिदर १.८ प्रतिशत रहने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षमा अमेरिकी डलर र पेट्रोलियम पदार्थको मूल्य बढ्दा आर्थिक गतिविधिमा संकुचन आई सबै प्रदेशमा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरका कमी आएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कोशी प्रदेशमा कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३३.२ प्रतिशत छ।
बागमती प्रदेशमा कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान व्यापार क्षेत्रको २३.६ प्रतिशत छ। गण्डकी प्रदेशमा जीडीपीमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको २९.८ प्रतिशत छ। कर्णाली प्रदेशमा जीडीपीमा बढी योगदान कृषि क्षेत्रको ३०.८ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
यस्तै सुदूरपश्चिम प्रदेशमा जीडीपीमा कृषि क्षेत्रको योगदान ३३.४ प्रतिशत छ। यस्तै राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले कोशी, मधेस र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सा कायम गरेको छ। बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रोमा छ। यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।