केपी शर्मा ओली (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस ‘हावा न चावा’को पार्टी भएको टिप्पणी गरेका छन्। कांग्रेसलाई अचेल कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसकेको ओलीको भनाइ छ।
मदन–आश्रितको ३१औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपाली कांग्रेस एउटा पार्टी छ, हावा न चावा भन्या। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो।’
ओलीले लामो इतिहास बोकेको पार्टी भए पनि कांग्रेस अहिले किंकर्व्यविमुख भएको टिप्पणी गरे। ‘देश यस्तो गम्भीर परिस्थितिमा छ। एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमुख, भोलि उठी कहाँ जाने, केही थाहा छैन भने जस्तै छ। आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन।’
देशलाई सही बाटोमा लैजाने अभिभारा वस्तुत: आफ्नो पार्टी (एमाले)ले पूरा गर्नुपर्ने परिस्थिति बनेको ओलीले दाबी गरे।
अध्यक्ष ओलीले सत्ताधारीहरुले अहिलेको राजनीतिलाई अत्यन्तै हल्काफुल्का ढंगले लिन खोजेको भन्दै त्यो दु:खद भएको बताए। ‘देशको परिस्थिति अत्यन्त गम्भीर छ। अत्यन्त जटिल छ,’ ओलीले भने।
ओलीले आफूहरु कहिल्यै कसैसँग मिल्दैन भन्ने नरहेको बताए। तर अहिले सत्ता गठनका लागि मिल्ने कुरा नहुने बताए। ‘देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौं,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।