काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरुले ‘नेपाली कांग्रेस रुपान्तरण अभियान' घोषणा गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाही लगायतका नेताहरुले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेस रुपान्तरण अभियानको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेस पार्टी जमुवा पोखरीझैं भएको बताए। उनले नेपाली कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै आफूहरुले पार्टीको समय सापेक्ष रुपान्तरण गर्ने बताए।
हाल कांग्रेसभित्र गैर कांग्रेसी चरित्रले बास गरेको उनले बताए। उनले कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएको भन्दै आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने बताए।
उनले कांग्रेसको कमी, कमजोरीहरुबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको दाबी गरे। कांग्रेस रुपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको घोषणा गरिएको उनले उल्लेख गरे।
अभियानले जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।