काठमाडौं– नेपाल सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई दबाब नदिएको बताएको छ।
पछिल्लो संसद्ले दुईपटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गरेपछि सरकारले दबाब दिएको भन्ने विषय सार्वजनिक भएको थियो।
उक्त विषयलाई खण्डन गर्दै सरकारकी प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले सरकारले दबाब नदिएको दाबी गरेकी छन्। मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि संचारकर्मीको प्रश्नमा मन्त्री शर्माले उक्त कुरा बताएकी हुन्।
‘जहाँसम्म सरकारले राष्ट्रपतिलाई दबाब दिएको भन्ने विषय छ त्यो गलत कुरा हो। राष्ट्रपतिज्यूले कानुनी परामर्श लिनसक्नु हुनेभयो। यदि मिल्छ, कानुनले दिन्छ भने संसद्बाट पारित भएकै हो, प्रमाणीकरण होस् भन्ने सरकारको सकारात्मक आशय हो,’ मन्त्री शर्माले भनिन्, ‘कानुनी परामर्श गर्ने उहाँको अधिकारको विषय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।