सुदूरपश्चिम प्रदेशको राजधानी रहने भनिएको कैलालीको गोदावरी क्षेत्र (फाइल तस्बिर)
काठमाडौं– सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीबाट सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ प्रस्ताव पुर्याइएको छ। सुदूरपश्चिम प्रदेश सभाले यसअघि निर्णय गरेको गोदावरीबाट चौकीडाँडा सार्न प्रस्ताव गरिएको कांग्रेस सांसद वीरबहादुर बलायरले जानकारी दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित सुदूरपश्चिम प्रदेशको आगामी बजेटबारे छलफल गर्ने कार्यक्रममा उनले गोदावरीमा बन्न नसकेकाले त्यहाँबाट राजधानी सार्नुपर्ने प्रस्तावमा छलफल अघि बढेको बताए।
उनले भने, ‘६ वटा प्रदेशको राजधानी बनिसक्यो। हाम्रो गोदावरीमा बनेन्। चौकीडाँडा रुख काट्न पनि पर्ने छैन। ६५ विघा जग्जा छ। त्यहीँ सार्न प्रधामन्त्रीज्यूलाई रिपोर्ट दिइएको छ। संसद् भवन मात्रै भएपनि बनाइयोस् र केन्द्रले चाँडै डीपीआर गरिदेओस्।’
उनले प्रदेश राजधानीबारे यथाशक्य निर्णय हुन जरुरी रहेको बताए। एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले पनि प्रदेश सरकारले आफ्नो थातथलो बनाउन लागि पर्नुपर्ने बताए। संघले प्रदेशका कार्यालय बनाउन सक्रिय नभएको बताउँदै त्यसका लागि पहल हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।