काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाह्य शक्तिको चलखेलका कारण नेपाली राजनीति अस्थिर बनेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पोखरेलले बाह्य शक्तिकै चलखेलका कारण दल तथा नेताहरुले विभाजनको पीडा खेप्नु परेको पनि उल्लेख गरेका छन्।
अहिले नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको ‘पपुलिस्ट राजनीति’ले सही दिशा र बाटो समात्न नसकेको पोखरेलको भनाइ छ। ‘पपुलिस्ट राजनीति’ भू–राजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहने पोखरेलको भनाइ छ।
राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने अजेण्डा भित्र नै खोज्नुपर्ने पोखरेलको भनाइ छ।
नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेकाहरुले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नुपर्ने उनको भनाइ छ।
‘संकटको पहिचान र समाधानको उपाय’ शीर्षकमा पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्–
जतिबेला नेकपा (एमाले) बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला नेकपा (एमाले)भित्र अन्तरसंघर्ष बढेको/बढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ।
राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वभाविक नै हो। तर काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ।
यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेस भित्र पनि उस्तै छ। यद्यपि कांग्रेसमा उदारवादी यथास्थितिबाद तर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने नेकपा (एमाले) पंक्तिको जस्तो पीडाको अनुभूति कम देखिन्छ।
ठूला ठूला संघर्ष र बलिदानको संघर्षवाट हुर्केका नेता र पार्टी भित्रको त्यो पीडा उनीहरुको मात्र कमजोरी ठान्नु ठूलो भुल हुनेछ। त्यसमा भूराजनीतिक स्वार्थहरुको प्रभाव बढी छ।
नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने वाह्य शक्तिहरुको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ।
नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समाप्त सकेको देखिँदैन।
तर नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिस्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन। बरु त्यो भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहन्छ।
पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ।
राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने अजेण्डाभित्र नै खोज्नुपर्ने हुन्छ। राजनीतिलाई त्यसकै वरिपरी ध्रुविकृत गर्नुपर्ने हुन्छ।
नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेकाहरुले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नु पर्दछ। सधैभरी पपुलिस्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्याउन सकिँदैन।
नेपाल जस्तो मुलुकमा उदारवादले व्यापारिक पुँजीवादलाई प्रश्रय दिने काम गर्दछ। त्यसको लाभ आम जनताले पाउन सक्तैन। त्यसबाट दलाल नोकरशाही पुँजीवाद नै लाभान्वित वन्न पुग्दछ। नेकपा (एमाले)लाई परमादेशबाट हटाएपछिको ५ दलीय सरकारले अवलम्बन गरेको नीति उदारवाद नै हो। त्यसको परिणाम के हुँदो रहेछ हामीले चरम आर्थिक संकटका रुपमा भोगिरहेका छौं।
समाजवाद हाम्रो जस्तो मुलकमा स्वाधिन अर्थतन्त्र निर्माणको बाटो हो। तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागु गरिहाल्न सक्ने अवस्था पनि छैन। यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको बाटो नै उपयुक्त बाटो हो। तर त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रुपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनु पर्दछ।
अहिले जस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुविकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास हुन सक्तैन। आजको संकटको समाधान पनि हुन सक्तैन। त्यसैले जनमतलाई विभाजित हुनबाट जोगाउँ। विचारधाराको जगमा जनमतलाई सुदृढ गरी बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुलाई सुदृढ गरौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।