काठमाडौं– सरकारले इन्टरनेटको मूल्य आफूखुसी नबढाउन सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। इन्टरनेट सेवा प्रदायकहरुले आपसी मिलेमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने सहमति गरेको र शुल्क बढाएको भन्ने जानकारीमा आएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्तो नगर्न भनेको हो।
‘इन्टरनेट सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क, महशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने बेहोरा सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईन्छ,’ प्राधिकरणले एक सूचना जारी गर्दै भनेको छ।
प्राधिकरणसँग अनिवार्य रुपमा स्वीकृत गराइ, प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरेपश्चात् मात्र नयाँ मूल्य लागू गर्नुपर्ने कानुन व्यवस्था रहेकोप्रति प्राधिकरणले ध्यानाकर्षण गराएको छ।
इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्कभन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको र शुल्क बढाउन इन्टरनेट सेवा प्रदायकहरुलाई कुनै पनि निर्देशन नदिएको पनि सूचनामार्फत् स्पष्ट पारिएको छ।
कुनै इन्टरनेट सेवा प्रदायकले स्वीकृत महशुलदर भन्दा बढी शुल्क लिने गरी बिल, बिजक जारी गरिएको भए सो को जानकारी उपलब्ध गराइ नियमन कार्यमा सहयोग पुर्याउन प्राधिकरणले इन्टरनेट उपभोक्ता, आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।