काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज (मंगलबार) पुन: बस्ने भएको छ। काठमाडौंको धुम्बाराहीमा सोमबारदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले बैठक मंगलबार पनि बस्न लागेको हो।
बैठक मंगलबार बिहान ८ बजेदेखि सुरु हुने नेताहरुले जनाएका छन्। सोमबारको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन।
उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ।
त्यसैगरी, पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्टी सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ।
महामन्त्री धवलशम्शेर राणाले साङ्गठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट साङ्गठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ। मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए।
बैठकमा पेस गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि सुझावका आधारमा ती परिमार्जन गरिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।