काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको आरोप लगाएका छन्।
एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको मुख्य योजनामा सो प्रकरणको सुरुवात भएको उनको जिकिर थियो।
पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।
उनले सो अपराधमा संलग्नहरु भ्रष्टाचार विरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे। महासचिव पोखरेलले उनले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौतीसमेत दिए।
मुलुकमा भएको ठूल्ठूला भ्रष्टाचारको काण्डहरुलाई छानबिन गर्न एमाले तयार भए पनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको दाबी थियो।
महासचिव पोखरेलले भने, ‘आज भुटानीका नाममा नेपाली नागरिकहरुलाई अवैध तरिकाबाट अमेरिका पठाउने काममा जुन प्रकारको ठगी भएको छ। यो ठगीको सन्दर्भको बारेमा, वास्तवमा यो ठगी काण्ड मात्रै होइन। राष्ट्रमाथिको घात हो। राष्ट्रको स्वाधिनता, स्वाभिमानप्रतिको एक प्रकारको अपमान हो भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ। नेपाल राष्ट्र स्वयं आफैं मानव तस्करीका लागि काम गर्दछ भन्ने प्रकारको जुन प्रकारको सन्देश गएको छ।’
महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहोर्याए।
उनले देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिहरुलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उल्लेख गर्दै सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।