काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी पक्राउको जानकारी संसद्लाई दिइएको छ।
यसअघि एमाले सचिव पदबाट निलम्बित भएका उनलाई सोमबार सांसद पदबाट पनि निलम्बन गर्ने तयारी गरिएको छ। उनी आइतबार साँझ पक्राउ परेका थिए।
जिल्ला प्रहरी परिसले सोमबार संसद् सचिवालयमा रायमाझी पक्राउको पत्रसहित जानकारी गराएको थियो। संसद् सचिवालयले उनको पक्राउबारेको जानकारी सभामुखलाई उपलब्ध गराइएको थियो।
संसद्लाई जानकारी गराएपछि सभामुख देवराज घिमिरेले उक्त पत्र पढेर सदनमा जानकारी गराएका हुन्। प्रहरीले सांसद रायमाझीलाई आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।
पक्राउ परेका रायमाझी अर्घखाँचीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। मंसिर ४ गते भएको निर्वाचनमा उनले नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई पराजित गर्दै निर्वाचित भएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी संलग्न भएको देखिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए।
* यसअघि निलम्बित लेखिएकोमा सच्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।