काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् विराजभक्त श्रेष्ठले डेंगु संक्रमण फैलिन नदिन अहिल्यैबाट तयारी थाल्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले वर्षात् सुरु भएको र अब डेंगु फैलिन सुरु हुने बताए। ‘गत वर्ष हामी कतिले दुःख पायौं। सानो बच्चाहरुले, ज्येष्ठ नागरिकहरुले साह्रै दुःख पाएका छन्। सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’, उनले भने।
आफू प्रदेश सभा सदस्य हुँदा पनि डेढ वर्ष अगाडि नै डेंगु रोगको संक्रमणको रोकथामको पूर्वतयारी गरौं भनेको तर त्यतिखेर वास्ता नगरिएको उनको भनाइ थियो।
उनले डेंगुलाई विपत् व्यवस्थापन अन्तर्गत राखेर तीन तहको सरकारसँग समन्वय गरेर अहिले नै डेंगुको लार्भाहरु नष्ट गर्ने अभियान चलाउन सुरु गरियो भने नागरिकले धेरै राहत पाउने बताए।
उनले रोग लागेर उपचार गराउनुभन्दा रोकथाम गर्नु राम्रो हो भन्ने भनाइ उल्लेख गर्दै उनले अहिले रोकथामका लागि समय रहेको बताए। ‘नभए हरेक डेंगु ग्रसित हुने मान्छेले हामीलाई सम्झिनेछ। यो सरकारलाई धिक्कार्ने छन्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।