काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठक एसआर बैंक्वेट धुम्बाराहीमा सुरु भएको प्रवक्ता सगुनसुन्दर लावतीले बताए।
देशमा चौतर्फी संकट मडारिइरहेको समयमा राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धिका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न बैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता लावतीले बताए।
प्रवक्ता लावतीका अनुसार, ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहिनताको अन्त्य, चुस्त दुरुस्त पार्टी संगठन र आन्दोलन लगायतका विषयमा बैठकले आगामी कार्यदिशा र कार्यभार समेत तय गर्नेछ।
एसआर बैंकेट, धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ। राप्रपाले विचार मिल्ने अन्य शक्तिहरुसँग सहकार्यका लागि खुला गर्ने निर्णय गर्ने तयारी गरेको छ। राप्रपाले भ्रष्टाचारमाथि छानबिनका लागि दबाब दिन आन्दोलनका नयाँ कार्यक्रमहरु तय गर्ने कार्यसूची पनि रहेको लावतीले बताए।
हिन्दुराष्ट्र, भ्रष्टाचार र राजाको विषयमा स्पष्ट अजेण्डा र कार्यक्रम यो केन्द्रीय समिति बैठकले तय गर्ने लावतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।