काठमाडौं– कक्षा १२ को परीक्षा चलिरहँदा परीक्षा केन्द्र बाहिर अनधिकृत रुपमा प्रचार सामग्री वितरण गर्ने ६१ जनालाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विभिन्न परीक्षा केन्द्रबाट विज्ञापन सामग्री वितरण गर्नेलाई महानगर प्रहरी बलले नियन्त्रमा लिएको हो।
नियन्त्रणमा लिइएकाहरुलाई ५ हजार रुपैयाँ जरिवाना तिराएर छाडिन लागिएको महानगरपालिकाले जनाएको छ। नियन्त्रणमा लिइएकाहरुलाई महानगरले बागदरबारस्थित प्रहरी बलको कार्यालयमा ल्याएर जरिवाना तिराइरहेको हो। महानगरले ४ वटै क्षेत्रबाट नगर प्रहरी परिचालन गरेर कक्षा १२ को परीक्षा केन्द्र बाहिरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकाहरुले कक्षा १२ को परीक्षापछि विद्यार्थीहरुलाई आफूतिर आकर्षित गर्नका लागि क्याम्पस र वैदेशिक शिक्षा तथा अन्य कक्षासम्बन्धी प्रचार सामग्री बाँडिरहेका थिए। कतिपय संस्थाहरुले परीक्षा केन्द्र बाहिर बुथ बनाएर विद्यार्थीहरुलाई सामग्री दिएका थिए।
शैक्षिक परामर्श संस्थाहरु तथा क्याम्पसहरुले नयाँ विद्यार्थीहरुलाई भर्नाका लागि प्रचार गर्न अध्ययनरत विद्यार्थीहरुलाई परिचालन गरेको देखिएको छ।
बस्तु वा सेवाको प्रचार प्रसार व्यवस्थापन गर्न २०७९ चैत ३० गते काठमाडौं महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश गरेर ‘काठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ जारी गरेको छ।
निर्देशिकामा महानगर क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोस्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, ब्यानर टाँस्ने माध्यमलाई अनुमति नदिइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।