काठमाडौं– नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका ऋणीहरूलाई सहुलियत दिने निर्णय गरेको छ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा लघुवित्तका ऋणीहरूलाई असार मसान्नतसम्म कर्जाको पुनसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने उल्लेख छ।
‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा ०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ,’ प्रतिवेदनमा भनिएको छ।
त्यस्तै मौद्रिक नीतिले अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषणमार्फत् आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई ०८० असार मसान्तभित्र पुनरसंरचना/पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था मिलाइने जनाएको छ।
यो व्यवस्थाले साना व्यवसाय र ५ करोडसम्म ऋण चलाएका ऋणीहरूलाई केही समय राहत हुने भएको छ।
वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारण कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरूलाई ब्याज नियमित रहेको अवस्थामा पनि सहुलिय दिने भएको छ।
आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना शुल्क नलिने गरी ३ महिनासम्मका लागि असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।