बनेपा– बुधबार राति निधन भएका दोस्रो जनआन्दोलन २०६२/०६३ का घाइते (जिउँदो शहीद) मुकेश कायस्थको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बनेपा नगरपालिकाको प्राङ्गणमा राखिएको छ।
श्रद्धाञ्जलितपछि शवलाई सम्मानका साथ नगर परिक्रमा गरी दिउँसो २ बजे अग्रतीर्थ घाटमा अन्तिम संस्कार गरिने हिरा शर्मा नेपालले जानकारी दिए।
मुकेशलाई श्रद्धाञ्जली दिन दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, पूर्व उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादे, काभ्रेका प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेल लगायत बनेपा नगरपालिकाको प्राङ्गण पुगेका छन्।
दोस्रो जनआन्दोलनका क्रममा २०६२ चैत २६ गते सुरक्षाकर्मीले प्रहार गरेको गोली मुकेशको कञ्चटमा लागेको थियो। गोली लागेर अचेत भएका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो।
पछिल्लो १७ वर्षदेखि उनी अर्धचेत अवस्थामा थिए। पछिल्लो समय उपचारका लागि बनेपाको शीर मेमोरियल अस्पतालमा भर्ना गरिएका मुकेशको बुधबार राति ३२ वर्षको उमेरमा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।