प्रधानमन्त्री प्रचण्ड (फाइल तस्बिर)
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलन २०६२/०६३ का घाइते ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले कायस्थको निधनप्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गरेका छन्।
काभ्रेको बनेपा नगरपालिका–८ घर भएका कायस्थको बुधबार राति बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा कायस्थलाई २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेको थियो। बायाँ कञ्चटमा लागेका कायस्थलाई ११ महिनासम्म अस्पताल राखिएको थियो।
त्यसपछि पनि कायस्थ अर्धचेत अवस्थामा नै बाँचे। कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो। गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो।
परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म हुनुभएको थियो । उहाँ २०७५ असारदेखि थप बिरामी पर्नुभएको हो ।
स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ। सरकारले उनको उपचार खर्च, मासिक १५ हजार रुपैयाँ भत्ता, एक सुसारेका ६ हजार २०० रुपैयाँ भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।
कायस्थलाई २०७८ सालमा ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।