काठमाडौं– मौजुदा अर्थतन्त्रमा संकटका घेराहरु रहेको तथ्यांक र विज्ञहरुको चेतावनीका बीच अर्थमन्त्री प्रकाशशरण महतले आसन्न बजेट वक्तव्यबाट ‘आशा’ जगाउने प्रतिबद्धता जाहेर गरेका छन्। आसन्न बजेटको सिद्धान्त र प्राथमिकताको छलफलपछि राष्ट्रिय सभामा सांसदहरुको सवालको जवाफ दिन पुगेका मन्त्री महतले उक्त प्रतिबद्धता जनाएका हुन्।
उनले ‘आशा’ जगाउने २ वटा ‘सूत्र’ अघि सारेका छन्। पहिलो पुँजीगत खर्च प्रभावकारी ढंगले गर्ने र दोस्रो मौद्रिक नीतिमार्फत् ब्याजदर कम गर्ने। अहिले चालू आर्थिक वर्षको १० महिना सकिन लाग्दा ३५ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन भने ब्याजदर दोहोरो अंकमा छ।
मन्त्री महतले भने, ‘पुँजीगत खर्चको प्रभावकारिता र ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार केन्द्रित हुनेछ। मलाई आशा छ निराशाको बादलको अन्त्य हुन्छ। रोजगारी सिर्जना हुन्छ।’
मन्त्री महतले पुँजीगत खर्चको प्रभावकारिता बढाउने ‘सनातनी’ पारामा बजेट जारी भएको पहिलो दिनबाटै काम गर्ने बताए। जुन कुरा यस अघिका हरेक अर्थमन्त्रीले भन्ने गर्थे।
‘हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनु पर्नेछ। हामीले स्वीकार गर्नुपर्छ, हाम्रो संयन्त्रमा ढिलासुस्ती छ। हाम्रो संयन्त्रमा उदासिनता छ र अन्तिम समयमा गएर मात्र खर्च गर्ने प्रवृति छ। त्यसलाई अन्त्य गर्नुपर्छ,’ मन्त्री महतले भने, ‘पहिलो दिनबाटै खर्चको मनिटरिङ गर्नुपर्छ, त्यसले खर्चको प्रभावकारिता बढ्छ। यो मेरो प्रतिबद्धता हो।’
मन्त्री महतले राष्ट्र बैंकसँग पनि असन्तुष्टि दोहोर्याए। अर्थतन्त्रको समस्या समाधान गर्नमा अर्थमन्त्रालय र राष्ट्र बैंकबीच आवश्यक समन्वय नरहेको उनका सार्वजनिक अभिव्यक्तिहरुलाई उनले पुन:संसद्मा दोहोर्याए। मन्त्री महत ब्याजदर घट्नेबित्तिकै अर्थतन्त्र चलायमान हुनेमा विश्वस्त छन्।
‘अहिले ब्याजदर उच्च भएकाले पहिला जस्ले ऋण लिएका थिए, उनीहरुको हिसाब गडबड भयो। अहिले जसले लिन खोजेका छन्, तिनिहरुको लागत बढ्न जान्छ। त्यसले अर्थतन्त्रमा पुँजी परिचालन हुन सकेको छैन। त्यसकारण मैले अस्ति पनि निवेदन गरेको थिएँ कि मौद्रिक नीतिमार्फत् पनि सम्बोधन हुनुपर्छ। मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र ब्याजदर घट्छ,’ मन्त्री महतले भने, ‘ब्याजदर घटेपछि लागत कम हुन्छ। जसले ऋण लिन्छ, त्यसको लागत कम हुन्छ र व्यापार चल्छ। त्यसो हुँदा अर्थतन्त्र चलायमान हुन्छ।’
मन्त्री महतले चालू आर्थिक वर्षमा राजश्व संकलनमा कम हुनुमा पनि मौद्रिक नीतिलाई दोष दिए। यसले उनको राष्ट्र बैंकसँगको दूरी थप प्रस्ट पार्छ। ‘अर्थतन्त्रमा विविध कारणले समस्या आयो। त्यसले पनि राजश्व संकलनमा समस्या ल्यायो। जस्तो, कोभिडको बेलामा सहज मौद्रिक नीतिमार्फत् धेरै ठूलो पुँजी प्रवाह भयो। त्यसले अरु खाले समस्या निम्त्यायो। त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीति कस्यो त्यसले पनि राजश्वमा प्रभाव पार्यो। जब अर्थतन्त्र शिथिल हुन्छ त्यही अनुसार राजश्व कम हुन्छ,’ मन्त्री महतले भने।
मन्त्री महतले राजश्व संकलन कम हुनुमा चुहावट पनि एक कारण रहेको उल्लेख गरे। त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गरेर चुवाहट नियन्त्रण गर्ने जनाए। सांसदहरूसामु मन्त्री महतले कुनै पनि व्यापारिक घरानालाई फाइदा हुने खालको बजेट निर्माण नगर्ने घोषणा गरेका छन्।
तर, यसैबीचमा विद्युतीय सवारीमा कर बढाउन जैविक इन्धनबाट चल्ने सवारीका व्यापारीहरु सक्रिय रहेको खबरहरु सार्वजनिक भएका छन्। त्यही विषयलाई लक्षित गर्दै मन्त्री महतले भने,‘विश्वास गर्नुहोस् कुनै घरfनालाई मध्यनजर राखेर फाइदा पुर्याउने काम र कुनै घरानालाई मध्यनजर गरेर घाटा पुर्याउने भन्ने हुँदैन। समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर नै काम गर्ने हो। त्यसमा विश्वास गरिदिनु होस् भन्ने अनुरोध गर्छु।’
यस्तै, मन्त्री महत आयातलाई कसिलो बनाउने विषयको विपक्षमा रहेका छन्। उनले अपेक्षित राजश्व संकलन गर्नलाई आयात कसिलो बनाउने पक्षमा नरहेको उल्लेख गरे। ‘आयात नियन्त्रण गर्ने भन्दाखेरी त्यसले धेरै हाम्रो राजश्व कम भयो। र हाम्रो खर्च गर्न समस्या भयो। त्यसकारणले के बन्द गर्ने के नगर्ने? के कस्ले उपयोग गर्छ के कस्ले उपयोग गर्छ? के गर्दैन भन्ने काम जनतालाई छोड्दिउँ,’ मन्त्री महतले सुझाए,‘हामीले के गरौं भने कसरी हाम्रो अर्थतन्त्रमा समृद्धि सिर्जना गर्ने त्यसको पहुँचमा आम नागरिकलाई पुर्याउनेमा केन्द्रित हुनुपर्छ।’
मन्त्री महतले आसन्न बजेटबाट धुमिल अर्थतन्त्रलाई चलायमान बनाउन पुन: उद्घोष गर्दै सांसदहरुसँग प्रतिबद्धता जाहेर गर्दै भने, ‘पुँजीगत खर्च पनि प्रभावकारी बनाउने र मौद्रिक नीतिमार्फत् पनि ब्याजदर घटाउनेबित्तिकै राजश्वको आधार फराकिलो हुन्छ। र राजश्व बढाउन सक्ने अवस्थामा पुग्छौं। त्यसैको आधारमा बजेटको लक्ष्य निर्धारण गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।