फाइल तस्बिर
काठमाडौं– देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। मंगलबार बिहान ८ बजेदेखि परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।
परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परिचालन गरिसकिएको छ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।
३ वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार २ भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।