काठमाडौं- २ करोड घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टीबाट कारबाही हुँदै सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि उक्त आदेश जारी गरेको हो।
सर्वोच्चले श्रेष्ठलाई हटाउने र उनको स्थानमा विन्ध्यबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय अर्को सुनुवाइ नभएसम्मका लागि यथास्थितिमा राख्न भनेको छ। सर्वोच्चले अहिले जारी गरेको अल्पकालीन अन्तरिम आदेश जेठ २ गतेसम्म मात्र कायम हुने र त्यसपछि दुवै पक्षको बहस सुन्दै उक्त विषयमा निर्णय गरिने सर्वोच्चको आदेशमा उल्लेख गरेको छ।
सर्वोच्चले विषयवस्तुको प्रकृति दुवै पक्षलाई छलफलमा राखेर अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्न मनासिव हुने देखिएको आदेशमा भनिएको छ। सर्वोच्चले उनको पद रिक्त भएको मानी उनको स्थानमा समानुपातिको सूचीमा रहेको र पार्टीले चैत २९ गते गरेको सिफारिसको आधारमा विन्ध्यबासिनी कंसाकारलाई नियुक्त नगर्न आदेश जारी गरेको छ।
तर, निर्वाचन आयोगले उनको नाम सोमबार नै सिफारिस गरेको छ। उनलाई प्रतिनिधि सभा सांसदको रुपमा दलले सिफारिस गरेको भन्दै आयोगले स्वीकार गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।