काठमाडौं- १९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक कैदी पक्राउ परेका छन्। जिल्ला अदालत म्याग्दीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेका धवलागिरि गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मीप्रसाद बुढा (लक्षीना) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले यही वैशाख २१ गते पक्राउ परेका बुढालाई बाँकी कैद कट्टा गर्नका लागि अदालतको आदेशानुसार कारागार चलान गरिएको आइतबार जानकारी दिए। बुढालाई २०५९ फागुन १५ गते म्याग्दी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।
विसं २०५७ फागुन १ देखि २०६० चैत ७ गतेसम्म तीन वर्ष दुई महिना सात दिन कैद भुक्तान गरेका थिए। उनले थप १७ वर्ष १० महिना २३ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।
२०६० चैत ७ गते माओवादी र सुरक्षाकर्मीबीच भएको बेनी भिडन्तका क्रममा कारागारबाट भागेका बुढालाई विशेष सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।