काठमाडौं। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार उच्च जोखिममा परेका छन्। शुक्रबारदेखि थारु टोलबाट बस्तीमा पस्न थालेको बाढी शनिबारसम्म सैनिक टोल र बड्का टोलसम्म पुगेको हो।
बाढी पस्न थालेपछि थारु टोलका ७८ घरपरिवारलाई शुक्रबार दिउँसो नै सुस्तामा निर्माण गरिएको होल्डिङ सेन्टरमा सारिएको थियो।
तर, गएराति सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।
शनिबार बिहान ७ बजेको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक रहेको छ।
नदीले आफ्नो धार परिवर्तन गरी सुस्तातर्फ सोझिएपछि एक लाख क्युसेक पानीको बहाव पुग्नेबित्तिकै बाढी पस्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।