काठमाडौं- जग्गा कीर्ते तथा जालसाजी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुई जना पक्राउ परेका छन्। शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष रामनिवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन्।
कुर्मी र उनका सहयोगी यादवले साबिक वीरपुर गाविस–९ स्थित मुकेश यादवका नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ।
जिल्लाको कृष्णनगर नगरपालिका–११ बस्ने रेखा लोहारलाई जग्गाधनी मुकेश यादवको जग्गाबारे जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए। आरोपी कुर्मी चौधरीले पीडित लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए।
कुर्मी चौधरीले पीडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका थिए। कार्यालय समय सकिएकाले दुई दिनमा आफैँ पुर्जा लिएर आउने बताएका चौधरीले चार दिन बित्दासमेत पुर्जा नआएपछि आफू ठगिएको अनुभव भएको पीडित लोहारले बताइन्।
पीडित लोहारले आफू ठगिएको पत्ता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिइन्। उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राउ गरेको हो। प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविकता, जग्गाको स्रेस्ताको विवरण झिकाएको थियो।
जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको, उक्त जग्गाको कीर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारबाहीका लागि पत्राचार गरिएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्षमण चालिसेले बताए। बिहीबार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुमा म्याद थपका लागि लगिएको छ।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।